आसन्न स्थानीय निर्वाचनमा गठबन्धन गर्ने/नगर्ने विषयमा सत्तारुढ नेपाली कांग्रेसबीच सहमति जुट्न सकेको छैन । पछिल्लो केही दिनयता यो विषयमा कांग्रेस शीर्ष नेताहरूबीच निरन्तर छलफल भइरहेको छ ।
शीर्ष नेताहरूले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँगको गठबन्धनलाई चुनावमा लैजानुपर्नेमा जोड दिइरहेका छन् । पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा त सुरुदेखि नै चुनावमा गठबन्धन गरेर जानुपर्ने पक्षमा छन् ।
उनले शनिबार एक कार्यक्रममा पनि चुनावमा गठबन्धन आवश्यक रहेको कुरा दोहोर्याए । देउवाले तल्लो तहका नेताहरूलाई चुनावमा गठबन्धन नगर्ने हो भने प्रचण्ड कुनै पनि बेला एमालेसँग मिल्नसक्ने भन्दै त्राससमेत देखाएका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पनि चुनावैसम्म गठबन्धनलाई लैजानुपर्ने पक्षमा छन् । ‘कांग्रेसले कुनै पनि अहंकार प्रदर्शन गर्नुहुन्न । हाम्रो ध्यान आफ्नो पार्टीलाई कसरी जिताउने भन्नेमा हुन्छ । जसको बहुमत हुन्छ, सरकार त्यसैले बनाउँछ । त्यसैले कांग्रेस एक्लै लड्दा अरू मिलेर लडे भने के हुन्छ?,’ पौडेलले एक रेडियो कार्यक्रममा भनेका छन्, ‘अहंकार गर्नु भनेको ओली प्रवृत्तिलाई बलियो बनाउनु हो । सबैलाई ओलीतिर धकेलेर कांग्रेस फेरि २३ सिटमा झर्नु भएन । हामी गठबन्धनलाई जोगाएर लैजाने पक्षमा छौं ।’
कांग्रेसभित्र प्रभावशाली नेता मानिएका प्रकाशमान सिंह पनि गठबन्धनका साथ चुनावमा जानुपर्नेमा सकारात्मक देखिएका छन् । उनले चुनावमा गठबन्धन गर्ने कि नगर्ने भन्नेबारे छिट्टै केन्द्रीय समितिले टुंगो लगाउने बताए ।
‘संविधान र लोकतन्त्रको रक्षाको लागि गठबन्धन निर्माण गरेर जानुपर्ने बाध्यता आइपर्यो । स्थानीय निर्वाचनमा गठबन्धन निर्माण गर्ने कि नगर्ने कांग्रेसको जारी केन्द्रीय समिति बैठकले उपर्युक्त निर्णय गर्नेछ,’ नेता सिंहले भने ।
तर, कांग्रेसका शीर्ष नेताहरूमध्ये शेखर कोइरालाले भने गठबन्धनबिना नै कांग्रेसले चुनाव लड्नुपर्नेमा जोड दिइरहेका छन् । उनले यसपालि गठबन्धन गरे भारतको कंग्रेस आइको हालत पनि हुनसक्ने भन्दै चेतावनी दिएका छन् ।
‘एमाले र माओवादी विगतमा जस्तै फेरि पनि मिल्न सक्छन् तर गठबन्धन मात्रै गर्दागर्दा कंग्रेस आइको हालत नहोला भन्न सकिन्न । गत १० वर्षको कंग्रेस आइ गठबन्धन गर्दागर्दै अहिले चारैतिर कमजोर भएको छ । यसलाई बुझ्नुपर्छ,’ कोइरालाले एक कार्यक्रममा भने ।
साथै, कांग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मालगायत नेताहरू पनि चुनावमा गठबन्धन गर्न नहुने पक्षमा छन् । त्यस्तै, धेरै कांग्रेस जिल्ला नेताहरूले पनि चुनावमा गठबन्धन आवश्यक नरहेको बताइरहेको छन् । तल्लो तहका नेताहरूको कांग्रेस एक्लै चुनावमा जानुपर्ने अडानले शीर्ष नेताहरूमाथि दबाब थपिएको छ ।
२०७४ सालको निर्वाचनमा कांग्रेसले २६६ स्थानीय तहमा जित हात पारेको थियो । यसपालि कांग्रेस स्थानीय निर्वाचनमा पहिलो दल बन्ने योजनामा छ । तर, दोस्रो तहका नेताहरू गठबन्धनको पक्षमा नरहेकाले देउवा केही समस्यामा देखिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0