सत्तारुढ पाँचदलीय गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरको सिट बाँडफाँडको टुंगो गठबन्धनको केन्द्रीय संयन्त्रले नै गर्ने निर्णय गरेको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ पाँचदलीय गठबन्धनको बैठकले सो निर्णय गरेको हो ।
त्यसैगरी बैठकले नगरपालिकाको मेयर तथा उपमेयर र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको सिट बाँडफाँड गरेर वैैशाख ५ गतेभित्र केन्द्रमा पठाउन प्रदेश संयन्त्रलाई निर्देशन दिएको छ । वैैशाख ३ गते जिल्ला संयन्त्रले प्रदेशलाई सिफारिस गर्ने र प्रदेश संयन्त्रले निर्णय गरी केन्द्रमा पठाउने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
गठबन्धन बैठकले महानगरपालिका, उपमहानगरपालिका नगरपालिका र गाउँपालिकाको वडाअध्यक्ष र सदस्यहरुको सिट बाँडफाँडको निर्णय जिल्ला संयन्त्रले वैशाख ३ गतेभित्र टुंगो लगाउने निर्णय पनि गरेको छ । सञ्चारमन्त्री कार्कीले सिट बाँडफाँड गर्ने कामको संयोजन भने सम्बन्धित कमिटीको कांग्रेस सभापतिले गर्ने निर्णय पनि गरिएको बताए ।
सिट बाँडफाँडको आधार भने २०७४ सालको स्थानीय तह निर्वाचनको मतपरिणामलाई मुख्य मान्ने सहमति पनि गरिएको छ । सञ्चारमन्त्री काकीका अनुसार प्रदेश तथा जिल्ला संयन्त्रमा प्रत्येक दलको प्रमुखसहित २–२ जना प्रतिनिधि रहनेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0