देशमा रहेका ११ उपमहानगरपालिकामध्ये हेटौंडा उपमहानगरपालिकाले महिला मेयर पाएको छ । सत्तारूढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादी तर्फबाट हेटौंडाको मेयरमा निर्वाचित भएकी हुन् मीनाकुमारी लामा । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमाले तर्फबाट उपमेयरका निर्वाचित भएकी लामा भर्खरै सम्पन्न निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट मेयर बनेकी हुन् ।
५ पुस २०७८ मा संसद विगठन भएपछि एमालेबाट एकीकृत समाजवादी रोजेकी लामालाई राम्रै सफलता हात परेको छ । ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेका अनन्त पौडेललाई पराजित गरेर लामा मेयरमा विजयी भएकी हुन् । लामाले २३ हजार ७५ मत प्राप्त गरेर हेटौंडा मेयर बन्न सफल भएकी हुन् ।
एमालेबाटै एकीकृत समाजवादीमा आएर हेटौंडामा तीन दशक देखिको एमालेको विरासत भत्काएकी लामाको चर्चा चुलिएको छ । त्यसो त, अबको पाँच वर्षमा हेटौंडाको विकासमा केन्द्रित रहेर काम गर्ने अठोट गरेकी मेयर लामासँग फरकधारकर्मी सुनिता बिष्टले गरेको कुराकानी :
हेटौंडाको मेयर बन्नुभएको छ, पदभार ग्रहण गरेदेखि अहिलेको अवधिमा कामकारबाही कस्तो हुँदैछ ?
अहिले रेगुलर गर्ने कामहरू व्यवस्थित गर्ने क्रममा छौं । सुरुवाती अवस्थामा रहेकोले पहिलो त व्यवस्थापनलाई नै मिलाउनु पर्ने हुन्छ । कार्यपालिका बैठक आइतबार आज बसिसकेको छ । कार्यपालिकाको बैठकले विभिन्न समिति बनाएर अब आउने पहिलो नगरसभाको तयारीमा पनि जुटेका छौं ।
५ वर्षको उपमेयर सम्हाल्नु भएको तपाईं मेयर बन्नुभएको छ, यहाँसम्म आइपुग्न कत्तिको चुनौती खेप्नुपर्यो ?
मेयर बन्नको लागि चुनौतीभन्दा पनि कुनै पनि काम गर्नको लागि चुनौती नै हुन्छ । त्यो चुनौतीलाई अवसरमा बदल्न जान्नुपर्छ । मैले पनि यो निर्वाचनलाई अवसरका रूपमा लिएको छु र अवसर लिइरहँदा चुनौतीका विभिन्न कामहरू त पर्छन् नै । त्यसलाई पार गरेर सफल हुन सकेछु । हेटौंडाबासीसँग मैले उपप्रमुखको भूमिकामा रहेर ५ वर्ष काम गर्दा गरेको सहकार्य, मेरो क्षमता र दक्षताले नै आज मलाई थप जिम्मेवारी दिनुभएको हो । चुनौती पछिको सफलतामा झनै मिठास भेटिन्छ ।
अबको पाँच वर्षको कार्यकालका लागि कस्ता-कस्ता योजनाहरू छन् ?
हामीले हेटौंडालाई सबै क्षेत्रबाट पूर्वाधार विकासदेखि स्वास्थ्य, शिक्षा, खानेपानी, कृषिलगायत उत्पादनशीललाई जोड्दै जाने योजना छ । समग्रमा हेटौंडाको चौतर्फी विकास अबको एजेण्डा हो ।
अहिले हेटौंडा प्रदेशको राजधानीसमेत भएकाले सातै प्रदेशको राजधानी रहेको सहरमध्ये अब्बल सिटीका रूपमा यसलाई विकास गर्ने पनि योजना छ । हामीले विकास निर्माणका धेरै काम गरिरहँदा महिला, बालबालिका, लैंगिक अल्पसंख्यक, ज्येष्ठ नागरिकको क्षेत्रमा पनि काम गर्नुपर्नेछ । युवा, कृषक तथा उत्पादनशील क्षेत्रमा पनि हामीले काम गर्नुपर्ने हुन्छस् यसका लागि हामी योजनाबद्ध ढंगले काम गर्नेछौं ।
मेरो कार्यकालमा हेटौंडामा कम्तिमा एउटा प्रसूति अस्पताल बनाउने, वडा-वडाको शहरी स्वास्थ्य केन्द्रलाई स्वास्थ्यकर्मीसहित व्यवस्थित गराउने,स्वास्थ्य सेवा, खानेपानी तथा विद्युत सेवामा निम्न वर्गका व्यक्तिका लागि निःशुल्क गराउने योजनाहरू छन् । युवा, कृषक तथा उत्पादनशील क्षेत्रमा पनि हामीले काम गर्नुपर्ने हुन्छ, यसका लागि हामी योजनाबद्ध ढंगले काम गर्नेछौं ।
चुनावी घोषणापत्रमा २५ युनिट बिजुली र वर्षको १५ हजार लिटर पानी निःशुल्क उपलब्ध गराउने उल्लेख गरिएकोमा अहिले अति विपन्नलाई मात्रै दिने भनियो, मेयर बनेपछि बोली फेरियो भन्ने आरोप छ नि ?
त्यो हामीले सुरु गरिसकेका छौं । पहिलोपटक नै अतिविपन्न नागरिक १५ सय ४१ जनालाई दिने भनेर निर्णय गरिसकेका छौं । मेरो बोली फेरिएकै छैन । हामीले दिने भन्ने निर्णय गरिसकेका छौं । अबको आर्थिक वर्षदेखि यो कार्यक्रमको सुरुवात गर्ने छौं । सबै कामहरू गर्न आधार त बनाउनु पर्यो नी । त्यसैले हामीले सुरु गरिसकेका छौं ।
भनेपछि हेटौंडामा अतिविपन्न १५ सय ४१ मात्रै छन् ?
त्यस्तो होइन । सुरुवातमा हामी अहिले यति परिवारबाट सुरुवात गर्न थालेका हौं । यसको दायरा बढाएर लाने छौं । सबै कुरा एकैपटक सफल हुनन् । त्यसका लागि समय पनि चाहिन्छ । आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा समेटेर योजना थप्ने र चुनावी घोषणापत्रमा लेखिएका एजेन्डालाई पूरा गर्नतर्फ अग्रसर हुनेछौं ।
हेटौंडाले महिला मेयर पाउँदा यहाँका महिलाको लागि पनि कुनै योजना ल्याउनुहुन्छ कि ?
योजनाभन्दा पनि हामीले विशेषगरी नगरमा समग्र विकासलाई हेरिरहँदा महिलालाई पनि प्राथमिकतामा राखेका छौं । महिलालाई नै लक्षित गरेर हामीले नगरस्तरीय महिला परिषद् गठन गर्छौं । त्यसैअनुसार हामी काम गर्छौं । महिलालाई उद्यमशील बनाउनेतर्फ नै केन्द्रित भएर काम गर्ने छु । आफू पनि महिला भएको कारण महिलाको विषयमा राम्रा कामहरू गर्ने छु ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0