मधेस प्रदेश सरकारले बजेट प्रस्तुत गरेको पाँच दिन पुगे पनि बजेट पुस्तिका (रातो किताब) प्रकाशन गर्न सकेको छैन ।
प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले अर्थ मन्त्रालयले बजेट पुस्तिका उपलब्ध नगराएकोले सदन सञ्चालन हुन नसकेको बताएका छन् । उनले मन्त्रालयले योजना पुस्तिका उपलब्ध गराएसँगै छलफल सुरू हुने जानकारी दिए ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सचेतक परमेश्वर साहले सरकारले रातो किताब उपलब्ध गराउन एक साताको समय माग गरेको बताए । उनले सांसदहरूले बजेट पुस्तिका प्राप्त गरेपछि मात्र बजेटमाथि दफावार छलफल सुरू हुने जानकारी दिए ।
मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७९/८० का लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट ल्याएको छ । अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले सरकारले चालूतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार अर्थात् ४६.४४ प्रतिशत रकम विनियोजन गरेको जानकारी दिए ।
यसैगरी पुँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार अर्थात् ५३.२१ प्रतिशत, वित्तीय व्यवस्थातर्फ १६ करोड २४ लाख ५६ हजार २ सय अर्थात् ०.३५ प्रतिशत विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतको राजस्वबाट ४ अर्ब १८ करोड ९३ लाख ७५ हजार, कोषहरूमा रहेको सञ्चित रकम ३८ करोड, नेपाल सरकारबाट राजश्व बाँडफाँडबापत प्राप्त ११ अर्ब ६१ करोड ५८ लाख र समानीकरणबापत प्राप्त अनुदान ७ अर्ब ८१ करोड ५८ लाख रहेको मन्त्री साहले बताए ।
चालू आर्थिक वर्षको विनियोजनबाट बचत हुने नगद मौज्दात ९ अर्ब ६६ करोड, विशेष अनुदान ४९ करोड, समूिरक अनुदान ७८ करोड, संघीय सरकारबाट सशर्त योजनाको लागि प्राप्त अनुदान १० अर्ब ६ करोड ५१ लाख र युनिसेफबाट प्राप्त हुने अनुदान ४ करोड ३३ लाख ४७ हजार गरी जम्मा ४५ अर्ब ४ करोड ९९ लाख २८ हजार ब्यहोर्दा रु. १ अर्ब ८२ करोड १० लाख १८ हजार २ सय न्यून हुने देखिन्छ । सो न्यून पूर्ति गर्न आगामी आर्थिक वर्षमा आन्तरिक ऋण परिचालन गरिनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0