नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यिक रचनालाई निरन्तरता दिन स्रष्टालाई प्रोत्साहित गरेका छन् ।
छिन्नलता गीत पुरस्कार गुठीले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गीत, संगीत, गायनसहितको साहित्यिक रचनालाई निरन्तरता दिन स्रष्टालाई आग्रह गरेका हुन् ।
उनले गीत, संगीत र गायनको क्षेत्रलाई अगाडि बढाउन नेपाली जनता सदैव प्रतिवद्ध रहेको पनि स्पष्ट पारे । नेपाल कविता, गीत, संगीत, गायनजस्तो रचनाको परम्परा भएको मुलुक भएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस परम्परालाई निरन्तरता दिएर नै अघि बढ्नुपर्ने आवश्यक्ता औंल्याए ।
उनले भने, ‘म रचना गरिरहन सबैलाई आग्रह गर्दछु । हाम्रो साहित्यिक परम्परा, हाम्रो कवि परम्परा आजको होइन । यो परम्परालाई अघि बढाउ हामी कृतसंकल्पित छौं । गीतको क्षेत्रमा, संगीतको क्षेत्रमा, गायनको क्षेत्रमा हाम्रा साथीहरु प्रतिवद्ध हुनुहुन्छ । र, उहाँहरूलाई प्रोत्साहन गर्न हामी सबै तयार छौँ । नेपाली जनता पनि यस परम्परालाई अगाडि बढाउन प्रतिवद्ध छन ।’
अध्यक्ष ओलीले गीत, संगीतसहितका साहित्यिक रचनाहरु छन्दवद्ध र लयवद्ध हुने भएकाले त्यसलाई बिर्सन नसकिने बताए । उनले नेपाल साहित्यिक रचनाहरुको पनि उद्गम थलो रहेको दोहोर्याए । कार्यक्रममा ओलीले छिन्नलता साहित्यिक पुरस्कारबाट स्रष्टाहरुलाई सम्मानसमेत गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0