सुदूरपश्चिम प्रदेश सरकारको बेरुजु रकम एक अर्ब ५४ करोड ९३ लाख पुगेको छ ।
महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६/७७ मा प्रदेश सरकारको बेरुजु रकम एक अर्ब २३ करोड तीन लाख १० हजार रहेकोमा चालु आर्थिक वर्षमा बढेर एक अर्ब ५४ करोड ९३ लाख पुगेको छ ।
आर्थिक वर्ष २०७७/७८ मा प्रदेशको सरकारी कार्यालय र समिति तथा अन्य संस्थाबाट ३३ अर्ब ५० करोड ४५ लाख ८६ हजार र समिति तथा अन्य संस्था एक अर्ब ९९ करोड ३२ लाख ५९ हजार गरी ३५ अर्ब ४९ करोड ७८ लाख ४५ हजारको लेखापरीक्षण भएकोमा ७७ करोड २४ लाख ८१ हजार बेरुजु रहेको देखिएको छ । प्रदेशमा आर्थिक वर्ष २०७७/७८ मा पाँच करोड ९१ लाख ९९ हजार आर्थिक अनियमितता भएको देखाएको छ ।
सरकारी कार्यालयबाट पाँच करोड ३४ लाख ८२ हजार रुपैयाँ र समिति तथा अन्य संस्थाबाट ५७ लाख १७ हजार रुपैयाँ आर्थिक अनियमितता भएको सार्वजनिक भएको तथ्यांकमा उल्लेख छ ।
प्रतिवेदनअनुसार प्रदेशमा सरकारी, समिति तथा अन्य संस्थाबाट दुई करोड ९३ लाख ११ हजार असुल गर्नुपर्ने देखिएको छ । सोमध्ये सरकारी कार्यालयबाट दुई करोड २८ लाख ५४ हजार रुपैयाँ र अन्य संस्थाबाट ६४ लाख ५७ हजार रकम असुल गर्नुपर्ने उल्लेख छ ।
प्रदेशमा सरकारी कार्यालयबाट २० करोड ४० लाख तीन हजार र समिति तथा अन्य संस्थाबाट २२ करोड आठ लाख ९८ हजार गरी ४५ करोड ४९ लाख एक हजार रकम नियमित गर्नुपर्ने प्रतिवेदनमा देखाएको छ ।
प्रदेशमा सरकारी कार्यालयबाट १५ करोड पाँच लाख २१ हजार सरकारी कार्यालय र २४ करोड ५१ लाख ८१ हजार रुपैयाँ गरी ३९ करोड ५७ लाख दुई हजार रकम बराबरको प्रमाणपत्र, कागजपत्र पेस नभएको तथ्यांकमा उल्लेख गरिएको छ ।
सरकारी कार्यालयबाट २६ करोड ८९ लाख ९९ हजार र समिति तथा अन्य संस्थाबाट एक करोड ९२ लाख ७० हजार गरी २८ करोड ८२ लाख ६९ हजार रकम पेश्की रहेको उल्लेख छ ।
प्रदेशमा सबैभन्दा बढी बेरुजु हुने कार्यालयतर्फ सामाजिक विकास मन्त्रालय छ । ६ अर्व ५८ करोड ३६ लाख ९८ हजार रकममध्ये मन्त्रालयमा ३८ करोड २६ लाख ५८ हजार बेरुजु रहेको प्रतिवेदनमा छ ।
प्रदेशको आर्थिक मामिला मन्त्रालय, मुख्य न्यायाधिवक्ताको कार्यालय, प्रदेश नीति तथा योजना आयोग र प्रदेश लोक सेवा आयोगको बेरुजु शून्य छ ।
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा २७ करोड ३९ लाख चार हजार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा ६ करोड १३ लाख २० हजार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा दुई करोड ५९ लाख ५७ हजार बेरुजु छ ।
त्यस्तै, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा दुई करोड ४९ लाख ३६ हजार, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा १८ लाख २५ हजार र प्रदेशसभा सचिवालयमा पाँच लाख ८१ हजार रुपैयाँ बेरुजु छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0