नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
तरुण दलले आज एक विज्ञप्ति जारी गर्दै विधेयक प्रमाणीकरण नगर्न राष्ट्रपतिले अनेक बहाना र प्रपञ्च गरेको आरोप समेत लगाएको छ ।
‘प्रमाणीकरणको लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेशस भएको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक विभिन्न अराजनीतिक बहाना र प्रपञ्च देखाई प्रमाणीकरणविना प्रतिनिधिसभामा फिर्ता पठाएकोप्रति नेपाल तरुण दल केन्द्रीय समितिको गम्भीर ध्यान आकृष्ट भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
राष्ट्रपतिले नागरिकताविहीन नेपाली जनतामाथि अपमान गरेको जनाउँदै तरुण दलले उक्त कार्यको घोर निन्दा र भर्त्सना गरेको छ ।
‘राष्ट्रपतिजस्तो गरिमामय पदमा बसेर राजनीतिक प्रतिशोध राखी नागरिकताविहीन नागरिकलाई संविधानले दिएको सार्वभौम अधिकारसमेत कुण्ठित हुने गरी उक्त विधेयक फिर्ता हुनुले नागरिकता प्राप्त गर्ने आशामा बसेका नेपाली नागरिक फेरि अन्धकारको भूमरीमा धकेलिएका छन्,’ तरुण दलले भनेको छ ।
पदको मर्यादामा नरहेका कारण राष्ट्रपतिले राजीनामा दिन उचित हुने सुझाब तरुण दलले दिएको छ । राजीनामा नदिएमा राष्ट्रपतिलाई महाअभियोगबाट पदच्युत गर्न संसद र सरकारसँग तरुण दलले अनुरोध गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0