एमालेले भन्यो- राष्ट्रपतिलाई विवादमा तान्ने प्रयास भयो
फाइल तस्बिर

प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रपति विद्यादेवी भण्डारीलाई विवादमा तान्ने प्रयास भएको भन्दै असन्तुष्टि जनाएको छ ।

प्रमाणीकरणका लागि पठाएकाे नेपाल नागरिकता (पहिलो संशाेधन) विधेयक २०७९ सन्देशसहित प्रतिनिधिसभामा पुनर्विचारका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएपछि उनको भूमिकालाई लिएर भएको टीकाटिप्पणीलाई विवादमा तान्ने प्रयासका रुपमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताए । 

मंगलबार बसेकाे प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोलेका एमालेका प्रमुख सचेतक भट्टराईले राष्ट्रपति भण्डारीले संवैधानिक अधिकार प्रयोग गरेका कारण अनावश्यक रूपमा विवादमा मुछ्ने प्रयास गर्नु गलत भएको बताए ।

राष्ट्रपतिले नागरिकता अध्यादेश तुरुन्तै जारी गरेको तर, नागरिकता विधेयक फिर्ता पठाएको भनी उठाइएको प्रश्नको संवैधानिक आधार नभएको उनको भनाइ छ । 



‘संविधानको धारा ११४ ले अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाउने अधिकार राष्ट्रपतिलाई दिएको छैन । तर, विधेयक राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाउन सक्ने अधिकार छ,’ उनले भने । प्रमुख सचेतक भट्टराई यसैमा थप्छन्, ‘मुलुकमा नागरिकता विधेयकका बारेमा अनेक खालका दृष्टिकोण आइरहेका छन् । राष्ट्रपतिलाई विवादमा पार्ने गरी उहाँको पूर्व पार्टी आबद्धता देखाएर, एमाले नेतृत्वको सरकारले अध्यादेश पठाउँदा तुरुन्तै जारी गर्ने, अहिले किन भनेर मुलुकलाई दुई कित्तामा विभाजित गर्ने प्रयास गरिएको छ ।’ 

बरु विधेयक फिर्ता भएपछि दलहरूलाई साझा धारणा तय गर्ने अवसर मिलेको उनको भनाइ छ । ‘राष्ट्रपतिले केही सन्देशसहित पठाउनुभएको छ । यो हाम्रा लागि सुवर्ण अवसर हो । एमालेको तर्फबाट आश्वस्त गर्न चाहन्छु– आउनुहोस् सम्पूर्ण राजनीतिक दलहरू एक ठाउँमा उभिएर जाउँ । नागरिकता जस्तो विषयमा साझा धारणा तयार गरेर अगाडि बढौं,’ भट्टराईले भने ।



  • प्रकाशित मिति : साउन ३१, २०७९ मंगलबार १२:३०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया