२०७४ को निर्वाचनमा प्रतिनिधिसभातर्फ धनुषाको निर्वाचन क्षेत्र नम्बर १ वाम गठबन्धनका मातृका यादव विजयी भएका थिए । माओवादी उम्मेदवार यादव २६ हजार ४१४ मत ल्याएर निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी तत्कालिन संघीय समाजवादी फोरम नेपालका दीपक कार्कीले १७ हजार २८१ मत पाए ।
मातृका यसअघि पनि माओवादी केन्द्रबाटै २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक कोटाबाट सांसद बनेका थिए । उनी पटकपटक मन्त्रीसमेत बनिसकेका छन् ।
त्यस्तै, निर्वाचन क्षेत्र नम्बर २ मा तत्कालिन संघीय समाजवादी फोरम नेपालका उम्मेदवार उमाशंकर अरगरियाले ३२ हजार ४४ मत ल्याएर जित हासिल गरे । उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका उम्मेदवार रामचन्द्र झाले १८ हजार ७१५ मत मात्र प्राप्त गरे । त्यस्तै, नेपाली कांग्रेसका रामकृष्ण यादवले १५ हजार ४४२ मत पाए ।
२०५२ मा नेविसंघबाट राजनीतिक यात्रा सुरु गरेका अरगरिया विभिन्न पार्टी हुँदै संघीय समाजवादी फोरममा प्रवेश गरी चुनाव लडेका थिए । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका उम्मेदवार राजेन्द्र महतो विजयी भएका थिए ।
निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विमलेन्द्र निधिलाई २ हजार ९१४ मतले पछाडि पार्दै उनले जित हासिल गरेका थिए । महतोले ३० हजार ७४२ मत ल्याउँदा निधिले २७ हजार ८२८ मत पाएका थिए ।
उता, क्षेत्र नम्बर ४ मा वाम गठबन्धनका उम्मेदवार रघुवीर महासेठ विजयी भए । उनले २२ हजार ५३२ मत पाए भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र यादवले १९ हजार ९९१ मत ल्याए । त्यस्तै, तत्कालिन संघीय समाजवादी फोरम नेपालका महाजन यादव १९ हजार ६६२ मत ल्याएर तेस्रो भए ।
२०६४ सालमा संविधानसभाको निर्वाचनमा धनुषा क्षेत्र नम्बर ४ बाट पराजित महासेठ त्यसपछि धनुषा ५ मा भएको उपचुनावमा विजयी भए । २०७० सालको चुनावमा क्षेत्र नम्बर ५ बाटै उम्मेदवार बनेका उनी पुनः पराजित भए ।
पाँच वर्षपछि फेरि आउँदो ४ मंसिरमा एकै चरणमा हुन लागेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा अवस्था फेरिएको आँकलन गर्न थालिएको छ ।
कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधिलाई यसपालिको निर्वाचनमा पार्टीले संघबाट समानुपातिक उम्मेदवारमा सिफारिस गरेको छ । त्यस्तै, आनन्दप्रसाद ढुंगाना पनि समानुपातिक उम्मेदवारका रूपमा सिफारिस भएका छन् । निधि मधेसी क्लस्टरबाट र ढुंगाना खसआर्य कोटाबाट सिफारिस भएका हुन् ।
धनुषाको चारवटै क्षेत्रमा केही नेता क्षेत्र परिवर्तन गरेर त केही पुरानै क्षेत्रबाट प्रत्यक्ष निर्वाचनमा भिड्न खोजिरहेका छन् । चार क्षेत्रमा ८ पूर्वमन्त्रीहरू चुनावी मैदानमा उत्रँने सम्भावना देखिएको छ ।
धनुषा–१ मा माओवादीबाट मातृका यादव फेरि चुनाव लड्दै छन् भने नेकपा एमालेबाट रामचन्द्र मण्डललगायत नेताहरू प्रतिस्पर्धामा उत्रँन खोजिरहेका छन् ।
क्षेत्र नम्बर–२ मा भने कांग्रेसबाट पूर्वमन्त्री रामकृष्ण यादव, नेकपा एकीकृत समाजवादीबाट पूर्वमन्त्री रामचन्द्र झा र एमालेबाट पूर्वमन्त्री उमाशंकर अरगरियाले प्रतिस्पर्धा गर्ने देखिन्छ भने एमालेले टिकट नदिने सम्भावना देखेपछि गंगाराम यादवले स्वतन्त्र चुनाव लड्ने भएका छन् । क्षेत्र नम्बर २ बाटै पूर्वशिक्षक कारी यादवले पनि स्वतन्त्र चुनाव लड्ने घोषणा गरिसकेका छन् ।
यता सबैभन्दा बढी रोचक देखिएको धनुषा क्षेत्र नम्बर ३ बाट चुनाव लड्दै आएका कांग्रेस पूर्वउपसभापति निधि यसपालि आफूले फेरि चुनाव नजित्ने सम्भावना देखेपछि समानुपातिकतर्फ गएका छन् । यस क्षेत्रबाट लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता एवम् पूर्वमन्त्री राजेन्द्र महतो फेरि चुनाव लड्ने भएका छन् ।
त्यस्तै, एमाले नेतृ पूर्वमन्त्री जुली महासेठ र जसपाबाट जनकपुरधाम उपमहानगरपालिकाका पूर्वमेयर लालकिशोर साह प्रतिस्पर्धामा रहने सम्भावना देखिन्छ । कांग्रेसले परमेश्वर महासेठलाई उम्मेदवार बनाउने प्रायः निश्चित नै देखिएको छ ।
यता, स्वतन्त्र बिद्यार्थी युनियन रा.रा.ब क्याम्पसका पूर्वसभापति उमेश चौधरीले पनि धनुषा–३ बाट स्वतन्त्र उम्मेदवारी दिने बताएका छन् । उनले विकृति र विसंगति तथा भ्रष्टाचारको विरुद्धमा युवाहरूको शसक्त आवाजको रूपमा आफ्नो उम्मेदवारी हुने बताएका छन् ।
धनुषा–४ बाट भने पुनः एमालेले पूर्वमन्त्री रघुवीर महासेठलाई उठाउने देखिन्छ भने कांग्रेसको तर्फबाट पार्टीका सह–महामन्त्रीससमेत रहेका पूर्वमन्त्री महेन्द्रराय यादव निर्वाचन लड्ने भएका छन् । जसपाले भने फेरि यसपालि महाजन यादवलाई नै उम्मेदवार बनाउने भएको छ ।
२०५१ र २०५६ सालको संसदीय चुनाव हारेका महासेठ २०६४ सालको उपचुनावमा जित्न सफल भएका थिए । २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा नेकपा एमालेबाट चुनाव लडे पनि तत्कालिन संघीय समाजवादी फोरमका सञ्जय साहसँग उनी पराजित भएका थिए ।
त्यस्तै, २०६४ साल र २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक सांसद बनेका महेन्द्र यादव २०७४ मा भने प्रत्यक्षतर्फ पराजित भएका थिए । २०७४ सालको चुनाव हुनुअघि उनी खानेपानी मन्त्री बनेका थिए ।
सो क्षेत्रमा कांग्रेस सह–महामन्त्री महेन्द्र यादवको विश्वास पात्रमध्येका सन्तोष यादव नेकपा एमालेमा प्रवेश गरेपछि सो क्षेत्रमा उनको अवस्था कमजोर हुनसक्ने आँकलन गरिएको छ ।
कांग्रेसले धनुषाको क्षेत्र नम्बर ३ बाहेक सबै क्षेत्रमा दाबी गरिरहेको छ भने जसपाले क्षेत्र नम्बर ३ र २ मा आफ्नो दाबी कायम राखेको छ । माओवादीले भने क्षेत्र नम्बर १ र नेकपा एसले क्षेत्र नम्बर २ मा आफ्नो दाबी प्रस्तुत गर्दै आएको छ । तर, सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल भएमा कसले टिकट पाउने भन्ने कुराको अन्योल कायमै छ ।
धनुषामा ४ लाख ९ हजार ९८५ मतदाता रहेका छन् । जसमध्ये महिला १ लाख ९३ हजार १०४ र पुरुष २ लाख १६ हजार ८७५ जना रहेका छन् भने अन्य ६ जना छन् ।
महिला उम्मेदवारको खडेरी
आसन्न निर्वाचनमा प्रत्यक्षतर्फ महिला उम्मेदवारको खडेरी देखिएको छ । धनुषाबाट चारजना महिला नेतृहरूले मात्र प्रतिनिधिसभामा उम्मेदवार बन्ने आकांक्षा देखाएकी छन् ।
प्रतिनिधिसभाका लागि धनुषामा नेकपा एमालेबाट जुली महासेठ, कौशिल्या देवी यादव र रिता मण्डलको नाम सिफारिस गरिएको छ भने कांग्रेसबाट भने मुक्ता यादवको नाम प्रत्यक्षतर्फ सिफारिस गरिएको छ ।
महोत्तरीमा भने प्रतिनिधिसभासभातर्फ कांग्रेसले मात्र किरण यादवको नाम सिफारिस गरेको छ । प्रदेशसभातर्फ नेकपा एमालेले शारदा थापा, सुमिन्त्रा देवी यादव र सपना झाको नाम सिफारिस गरेको छ ।
त्यस्तै, एकीकृत समाजवादीले मञ्जु यादवको नाम प्रदेशसभामा प्रत्यक्षतर्फ सिफारिस गरेको छ । लोसपाले प्रदेशसभातर्फ सुरिता साह र रानी शर्माको नाम सिफारिस गरेको छ ।
पटकपटक समानुपातिकबाट सांसद बन्दै आएका मधेशका महिला नेतृहरू यसपटक पनि समानुपातिक नै रोजेकी छन् । लोसपाकी चन्दा चौधरी, जसपाकी रेणु यादव, कांग्रेसकी मिनाक्षी झा, सीता यादव, चित्रलेखा यादवलगायतका नेतृहरू समानुपातिक रोजेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0