नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकारकै पालामा विकासको मामिलामा देश द्रुत गतिमा अगाडि बढेको दाबी गरेका छन् । शनिबार धनुषाको विदेह नगरपालिकास्थित तिनकौरियामा आयोजित पार्टीको बृहत जनसभा एवम् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न जनकपुरधामबाट–महिनाथपुरसम्मको रेलको यात्राको क्रममा उनले यस्तो दाबी गरेका हुन् ।
उनले भने, ‘आज हामी ट्रेनमा बसेर आरामदायी यात्रा गर्न सकिरहेका छौं । खुसी नलाग्ने कुरै भएन । यो अत्यन्तै खुसीको कुरा हो । यो हाम्रो रेल हो, त्यसैले धेरै खुसी छु ।’
अध्यक्ष ओलीले एमाले सरकार बनेपछि मात्र यस्ता विकासका कुराहरुले देशमा गति लिएको दाबी गरेका छन् । ‘हामीले हुलाकी राजमार्ग बनायौं, कोसी मरिन डाइभर्सन बनायौं,’ उनले भने, ‘अहिले १ लाख ८५ हजार मधेसको जमिन सिंचाई सदुपयोग भइरहेको छ । देशले यो सबै उपलब्धी एमालेकै सरकारको पालामा पाएको हो ।’
अध्यक्ष ओलीले सघन सहरी विकास कार्यक्रम, जनकपुर ढल विकास आयोजनालगायतका थुप्रै कार्यक्रमहरु ल्याएर आफूहरु अनेक हिसाबले सफलता साथ अगाडि बढेको दाबीसमेत गरे ।
रेलमा यात्रा गर्ने क्रममा अध्यक्ष ओली तथा एमालेका नेता कार्यकर्ताहरूले एसी बगीको ५६ र जेनरल बगीको ८६ वटा गरी कुल १४२ वटा टिकट काटेका थिए । पूर्वप्रधानमन्त्री ओली लोकतान्त्रिक समाजवादी पार्टीका सचेतक उमाशंकर अरगरियालगायतका नेताहरुलाई एमाले प्रवेश गराउन शनिबार धनुषा आइपुगेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0